चितवन । भरतपुर महानगरपालिकाले बजार अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको एक प्याकेजिङ उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गर्दै सञ्चालनमा रोक लगाएको छ।
महानगरको अनुगमन टोलीले वडा नं. ३ बेलचोकस्थित ‘सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योग’ मा अनुगमन गर्दा तेल अव्यवस्थित रूपमा भण्डारण गरिएको, एउटै सामग्रीमा दुई–तीन पटकसम्म लेबल टाँसिएको, सरसफाइ कमजोर रहेको तथा खाद्य र अखाद्य वस्तु एउटै स्थानमा राखिएको पाइएको थियो। त्यसपछि उद्योगलाई जरिवाना गरिएको वडा अध्यक्ष विकास थापाले जानकारी दिए।
महानगरले उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी निकायमा दर्ता गर्न, खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै राख्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। पुनःअनुगमनपछि मापदण्डअनुसार सञ्चालन योग्य पाइएमा मात्रै उद्योग सञ्चालन गर्न दिइने महानगरले जनाएको छ।
यसैबीच, महानगरले बुधबार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत रामनगर क्षेत्रका होटलहरूको पनि अनुगमन गरेको छ।
त्यस्तै, नारायणगढको पुतली बजार क्षेत्रका २० भन्दा बढी किराना पसलको अनुगमन गर्दा अधिकांश व्यवसाय दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ।
वडा नं. २ का अध्यक्ष मनोज रानाभाटका अनुसार केही व्यवसाय २१ वर्षदेखि नवीकरण नगरी सञ्चालन हुँदै आएको भेटिएको छ। महानगरले त्यस्ता व्यवसायीलाई तत्काल दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।






