उपत्यकामा सार्वजनिक यातायातको छड्के अनुगमन, सिसीक्यामेरा र ड्यासबोर्ड अनिवार्य गर्ने तयारी

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियम पालनाको अनुगमन गर्न विशेष छड्के निरीक्षण अभियान सुरु गरेको छ ।

कार्यालयका अनुसार यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित अनुगमन थालिएको हो ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले सार्वजनिक सवारीमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसी क्यामेरा, ड्यासबोर्ड क्यामेरा लगायत सुरक्षा उपकरणको अवस्थाबारे विशेष निगरानी गरिएको बताए ।

उनका अनुसार सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनाबारे पनि निरीक्षण भइरहेको छ ।

प्रहरीले सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा उपकरण जडान नगर्ने तथा नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरिने जनाएको छ ।

अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमा यात्रा गर्दै उपत्यकाका विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गरेको थियो । टोलीले चालकले लेन अनुशासन पालना गरे–नगरेको, यात्रु चढाउने र ओराल्ने स्थानको प्रयोग, मोबाइल प्रयोग गरेर सवारी चलाइएको अवस्था तथा गति नियन्त्रणको समेत निगरानी गरेको जनाएको छ ।

पछिल्लो समय सार्वजनिक यातायातप्रति यात्रुको गुनासो बढ्नु, लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च हुनु तथा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटमा निरन्तर अनुगमन जारी रहने कार्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *