आइएमई खल्तीद्धारा ‘सुपर वालेट’ सुविधा सार्वजनिक

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा नियो बैंकिङ युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।

यसअघि यो ब्याज सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि सुपर वालेटको सुविधा विस्तार गरेको छ। यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।

सुपर वालेटको विशेषता र फाइदाहरूः
आकर्षक ब्याजदरः हाल वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्ने।

स्वचालित ब्याजः सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुने।

सरल डिजिटल प्रक्रियास् कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिने।

सुपर वालेट सक्रिय गर्न आवश्यक योग्यताः
यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ र निम्नमध्ये कुनै एक सर्त पूरा गरेको हुनुपर्नेछः

केवाईसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वा केवाईसी प्रमाणित भई वालेटमा Overnight Balance रु १,००० कायम गरेको।
(यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छः पीओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन्।)

कसरी आवेदन दिने?
प्रयोगकर्ताहरूले खल्ती एपको होम स्क्रिनमा रहेको सुपर वालेट सेक्सनमा गई एप्लाई बटनमा ट्याप गरेर सहजै आवेदन दिन सक्नेछन्। आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सुपर वालेट सक्रिय हुनेछ। साविकका आइएमई पे प्रयोगकर्ताहरूको हकमा यो सुविधा पहिले नै सक्रिय रहेकाले उनीहरूले पुनः आवेदन दिनु पर्ने छैन।

यस विशेष अवसरमा बोल्दै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “नेपालको ठूलो जनसङ्ख्या आज पनि औपचारिक बैंकिङ प्रणालीको पहुँचभन्दा बाहिर छ। सुपर वालेटमार्फत हामी यही असमानतालाई सम्बोधन गर्दैछौँ। अब हरेक नेपालीको— चाहे ऊ गाउँको किसान होस्, सहरको साना व्यवसायी होस्, विदेशमा पसिना बगाइरहेको कामदार होस्, वा सानो खर्च गर्ने विद्यार्थी नै किन नहोस्— उसको हरेक रुपैयाँले उसैको लागि काम गर्नेछ। एक विद्यार्थीले समेत आफ्नो सानो रकम कसरी बढ्दै गइरहेको छ भन्ने प्रत्यक्ष अनुभव गर्न सक्नेछ, जसले उनीहरूमा सानै उमेरदेखि बचतको स्वस्थ बानी विकास गराउनेछ। खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन— यो नेपालीहरूलाई वित्तीय अनुशासन र बचतको संस्कार सिकाउने Experience Platform हो। यो खल्तीको व्यावसायिक सफलता मात्र होइन, नेपालको वित्तीय लोकतन्त्रीकरण र वित्तीय साक्षरतातर्फको एक निर्णायक कदम हो।”

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *