काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजीको आधारमा १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । यसअनुसार हालको ४० करोड रुपैयाँ चुक्ता पूँजी बराबरकै रकम थप पूँजी संकलन गर्ने लक्ष्य कम्पनीको रहेको छ । हकप्रद शेयरमा माघ २९ गतेसम्म कायम रहेका साविक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँबाट बढेर ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले उठाएको पूँजी आयोजना विस्तार तथा वित्तीय दायित्व व्यवस्थापनमा उपयोग गर्ने जनाएको छ ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड ले ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ । हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।






