सहमति भएका विषयमा चरणबद्ध रूपमा संविधान संशोधन गर्नुपर्छ: मोहनलाल आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मोहनलाल आचार्यले संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको बताएका छन् । संविधान संशोधनका सन्दर्भमा संघीयताको सवाल विषयक छलफल कार्यक्रममा बोल्दै उनले हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभई विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु रहेको स्पष्ट पारे ।
उनले भने, ‘संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा छ । हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभइ विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु हो ।’
उनले संविधान संशोधनका विषयमा संसदलाई छलेर काम भइरहेको भन्ने आशंका निराधार रहेको उल्लेख गर्दै बहसपत्र तयार भएपछि मात्र संसदमार्फत विस्तृत छलफल हुने बताए । उनका अनुसार कार्यदल नेपाल सरकारको तर्फबाट गठन गरिएको भएपनि यसमा सरकारको कुनै निश्चित ‘पोजिसन’ नभएको र सबै विषयमा खुला छलफल भइरहेको छ ।

आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र तथा सरकारको सयबुँदे कार्यसूचीमा संविधान संशोधनसँग सम्बन्धित विषय समेटिएको जानकारी दिए । उनले आफू पार्टीको प्रतिनिधिका रूपमा कार्यदलमा सहभागी भएको र विषयगत रूपमा छलफललाई नेतृत्व गर्ने जिम्मेवारी पाएको बताए ।

संघीयताको कार्यान्वयनका क्रममा मुख्य समस्या कानुन र संरचनाभन्दा पनि कार्यान्वयन पक्षमा रहेको उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि बनाइएका संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको उल्लेख गर्दै उनले कार्यव्यवस्था प्रतिवेदनलाई कानुनी मान्यता दिएर अघि बढाउनुपर्ने धारणा राखे । संविधान संशोधनलाई एकैपटक ठूलो प्याकेजमा लैजानुभन्दा सहमति भएका विषयमा क्रमिक रूपमा संशोधन गर्दै जान सकिने उनले बताए । संविधानलाई ‘जीवित दस्तावेज’ को रूपमा व्याख्या गर्दै समयअनुसार संशोधन आवश्यक पर्ने उनको धारणा थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *