तनहुँ। तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ।
डिभिजन वन कार्यालय चितवन ले प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रुख कटान तथा व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत दिएको हो।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार यससँगै निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ।
भरतपुर महानगरपालिका–१ र २९ अन्तर्गतका विभिन्न सामुदायिक वन क्षेत्रमा रहेका एक हजार २६३ रुख कटान गरिने जनाइएको छ।
काटिएका रुख सम्बन्धित सामुदायिक वन समूहले तोकेको स्थानमा व्यवस्थापन गरिनेछ।
सरकारले यसअघि प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँमा गरी ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा नौ हजारभन्दा बढी रुख हटाउन स्वीकृति दिएको थियो।
आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ।
एसियाली विकास बैंक, जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरण को संयुक्त लगानी रहेको आयोजनाबाट वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।






