काठमाडौँ । संवैधानिक परिषद्ले बिहीबार प्रधान न्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने भएको छ ।
डा. शर्माको सुनुवाइ प्रक्रिया थाल्नका लागि सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने बैठकमा शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने छ।
शर्मालाई हिजो (बिहीबार) बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था रहेकोले यो प्रक्रिया शक्ति सन्तुलन र लोकतान्त्रिक निगरानीको महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ ।
तर, सिफारिसपछि देखिएको कानूनी चुनौतीले यो प्रक्रिया सहज भन्दा बढी विवादित बन्न सक्ने संकेत दिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै यसको वैधता र प्रक्रियागत पक्षमाथि न्यायिक परीक्षणको माग गरेका छन् ।






