काठमाडौं । कम्बोडियामा विभिन्न समस्यामा परेका २११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । उनीहरूले आफूहरूलाई स्वदेश फर्काइदिन आग्रह गरेका छन् ।
दूतावासले जारी गरेको सूचनाअनुसार कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्न अनलाइन फाराम खुलाइएको थियो । हालसम्म फाराम भर्ने २११ जनामध्ये ९ जना महिला रहेका छन् ।
दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेकाहरू छन् ।
दूतावासले २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ ।
पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने दूतावासले भनेको छ । दूतावाले २५ जना नेपालीहरू आज नेपाल फर्किरहेको पनि जानकारी दिएको छ ।
त्यस्तै दूतावासले नेपाल फर्किनका लागि कनेक्टिङ फ्लाइट भएको टिकटमात्र खरिद गर्न आग्रह गरेको छ ।
‘कम्बोडियाबाट नेपाल फर्किने क्रममा कृपया कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्नुहोला,’ दूतावासले भनेको छ, ‘कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट हुने मुलुकको भिसा आवश्यक पर्न सक्ने, साथै आफ्नो लगेज पुनः चेक इन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रा झन्झटिलो तथा कठिन हुन सक्छ ।’
नेपालीहरूले कम्बोडिया जाने क्रममा २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ ।







