काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड ले वार्षिक साधारणसभा आह्वान गरेको छ।
सञ्चालक समितिको वैशाख २० गतेको बैठकले जेठ १८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीमा साधारणसभा गर्ने निर्णय गरेको हो।
सभामा बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पेश गर्नेछ।
नेपाल राष्ट्र बैंक बाट पूर्वस्वीकृति प्राप्त यस प्रस्तावअनुसार २ः१ अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्ने तयारी छ।
यसबाट बैंकले करिब ७ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
साधारणसभाबाट अनुमोदन भएपछि अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड मा प्रक्रिया अघि बढाइनेछ। सबै नियामकीय स्वीकृति पूरा भएपछि मात्रै हकप्रद सेयर निष्काशन हुनेछ।
हकप्रदसँगै अधिकृत र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा लैजाने बैंकको योजना छ।
अधिकृत पुँजी १९ अर्ब ९२ करोडबाट बढाएर २७ अर्ब ३८ करोड रुपैयाँ पुर्याउने तथा चुक्ता पुँजीसमेत सोहीअनुसार वृद्धि गर्ने प्रस्ताव राखिनेछ।
साधारणसभा प्रयोजनका लागि बैंकले जेठ ६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअघिसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन्।






