काठमाडौं। सिद्धार्थ क्यापिटलले आजदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ। कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गरेको हो।
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्कासन गरिने कुल १० करोड इकाइको न्यूनतम १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक कम्पनी सिद्धार्थ बैंकका लागि सुरक्षित गरी बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन पाइने योजनाको इकाइमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ ४ गतेसम्म आवेदन खुला रहने कम्पनीले बताएको छ।
योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा इक्रा रेटिङ नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी प्लस र योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ दिएको छ।






