काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु (SUBISU Limited)ले अत्याधुनिक वाइफाइ-६ (Wi-Fi 6) प्रविधिमा आधारित आफ्नो नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।
यसका साथै कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाको रूपमा समावेश गर्दै “सेक्युर इन्टरनेट–सुबिसु सुरक्षा”को नवीन अवधारणा ल्याएको छ । नेपालमा वाइफाइ-६ प्रविधि उपलब्ध भए तापनि, सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने सुबिसु नेपालको पहिलो संस्था बनेको छ ।
वाइफाइ-६ र ‘सुबिसु सुरक्षा’का मुख्य विशेषताहरू
सुबिसुले भित्र्याएको वाइफाइ-६ प्रविधिले अभूतपूर्व गति र क्षमता प्रदान गर्नेछ । यसले उच्च गतिको इन्टरनेट अनुभव दिनुका साथै उत्कृष्ट वाइफाइ कभरेज र एकै समयमा धेरै डिभाइसहरूलाई सहज रूपमा कनेक्ट गर्ने क्षमता राख्छ । यसका साथै, यसले लो-लेटेन्सी (Low Latency) सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव प्रदान गर्नुका साथै डिभाइसहरूको ब्याट्री बचत गर्न पनि मद्दत गर्दछ ।
विशेषगरी ‘सुबिसु सुरक्षा’ (Protective Layer) एउटा यस्तो सुरक्षात्मक तह हो, जसले इन्टरनेट प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइटहरू, साइबर जोखिम र अनधिकृत पहुँचबाट सुरक्षित राख्छ । यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा सुनिश्चित गर्दै परिवार र व्यावसायिक प्रयोजनका लागि सुरक्षित ब्राउजिङको वातावरण निर्माण गर्छ ।
इन्टरनेट सेवामा नयाँ मानक
यस सेवाको बारेमा सुबिसु लिमिटेडका भाइस प्रेसिडेन्ट (Vice President) राम कृष्ण परियारले भने, “डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त छैन हामीले ग्राहकलाई तीव्र गतिको मात्र नभई, सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका छौं ।” वाइफाइ-६ र सुरक्षित इन्टरनेटको संयोजनमार्फत सुबिसुले नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ, जहाँ गति, स्थिरता र सुरक्षा एकैसाथ उपलब्ध हुनेछन् ।
ग्राहकहरूको आवश्यकता र स्तरलाई ध्यानमा राख्दै कम्पनीले तीन फरक प्याकेजहरूमा यो सेवा उपलब्ध गराएको छ :
स्मार्ट वाइफाइ ६ (Smart WiFi 6)
प्रो वाइफाइ ६ (Pro WiFi 6)
एलिट वाइफाइ ६ (Elite WiFi 6)
यस नयाँ पहलले नवप्रवर्तन, ग्राहक सुरक्षा र भविष्यमुखी डिजिटल सेवाहरूप्रति सुबिसुको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ ।






