काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरण गर्न ६ बुँदे सर्कुलर जारी गरेका छन्।
मन्त्रीको निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती हटाउँदा विद्यार्थीको पढाइमा असर नपरोस् भन्ने उद्देश्यले विभिन्न निर्देशन जारी गरेको हो।
केन्द्रले प्रभावित विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ। खासगरी सोमबादेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ ।
साथै, सुकुमबासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ ।







