काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।
किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ को रूपमा आत्मसाथ गरेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु।”
पार्टीबाट अलग भए पनि राजनीतिबाट भने आफू टाढा नहुने स्पष्ट पार्दै किराँतीले जनताको भरोसा र सहिदहरूको अधूरो सपना पूरा गर्ने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। “मेरो आगामी बाटो सहज नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा दृढतापूर्वक अघि बढिरहनेछु,” उनले उल्लेख गरेका छन्।
यसअघि नै उनले पार्टीमा राजीनामा बुझाइसकेका भए पनि औपचारिक रूपमा सार्वजनिक भने बुधबार मात्रै गरेका हुन्।






