काठमाडौं । हर्कराज राई ले संघीयताको मर्मअनुसार शासन सञ्चालन हुन नसकेको भन्दै सबै विषय प्रधानमन्त्रीसँगै जोडिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टी द्वारा ललितपुरमा आयोजित कार्यक्रममा उनले विकास–निर्माणलाई प्रभावकारी बनाउन कानुनी संरचनामा सुधार आवश्यक रहेको औंल्याए।
उनका अनुसार विद्यमान कानुनकै कारण विभिन्न मन्त्रालयबीच समन्वय अभाव देखिँदा काममा अवरोध सिर्जना भइरहेको छ। “भौतिक पूर्वाधार मन्त्रालयले सडक निर्माण अघि बढाउन खोज्दा वन मन्त्रालयले रोक्ने, खानेपानीका संरचना बनाउन खोज्दा पनि वन क्षेत्रको नाममा अवरोध आउने अवस्था छ,” उनले भने।
यस्तो विरोधाभासले विकासका काम ढिलो भइरहेको उल्लेख गर्दै उनले समयअनुकूल कानुनी परिमार्जन नगरेसम्म प्रभावकारी काम हुन नसक्ने धारणा राखे।
अध्यक्ष राईले संघीयताको मर्मअनुसार अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्नेमा जोड दिए। साथै, सबै संस्कृति र समुदायप्रति सम्मान आवश्यक रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायको पहिचान र अधिकार संरक्षणमा ध्यान दिनुपर्ने बताए।






