काठमाडौं । विश्वविद्यालयहरूमा अब नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउने निर्णय गरिएको छ। गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले निर्णयमा हस्ताक्षर गरेका छन् ।
‘क्याम्पस तथा विश्वविद्यालयहरूको परीक्षाफल प्रकाशनलाई पूर्वानुमानयोग्य बनाउन विश्वविद्यालयका परीक्षा नियन्लण कार्यालयको नतिजा पोर्टल निर्माण गर्ने र परीक्षाफल प्रकाशन भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था गर्ने निर्णय गरियो,’ निर्णयत्रपत्रमा भनिएको छ ।
उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी कार्यान्वयनको लागि परिस्कृत गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा एक समिति गठन गर्ने र उक्त समितिले १५ दिनभित्र क्यालेन्डर पेश गर्ने निर्णय पनि भएको छ ।
सेवाग्राहीको गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रुपमा सम्बोधन गर्न २४ सै घण्टा खुला रहने गरी फोन, मोबाइल एप, पोर्टल तथा समाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहु–च्यानलको व्यवस्था सम्बन्धित विश्वविद्यालयले मिलाई गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने निर्णय भएको छ ।
यसैगरी, विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्र मोबाइल एप, नागरिक एप वा इमेलमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइनेछ। विश्वविद्यालयहरूले आवश्यक एप तथा पोर्टल तयार गरी १५ दिनभित्र नागरिक एपसँग जोड्ने निर्णय गरिएको छ।






