नारायणगढ — गृहमन्त्री सुधन गुरुङले देशमा कस्तो नागरिक तयार हुन्छ भन्ने कुरा शिक्षाको गुणस्तरमा निर्भर रहने बताएका छन्।
चितवनको पश्चिम क्षेत्रमा पर्ने ज्योतिनगरस्थित कालिका बोर्डिङ स्कुलको अवलोकनपछि आइतबार आफ्ना पूर्वशिक्षकहरूसँगको अन्तरक्रियामा उनले विद्यार्थीको भविष्य शिक्षकले दिने शिक्षामा आधारित हुने उल्लेख गरे।
“गुरुले दिने शिक्षा र संस्कारले नै कस्तो नागरिक उत्पादन हुन्छ भन्ने निर्धारण गर्छ,” उनले भने।
मन्त्री गुरुङले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औँल्याउँदै प्रणालीगत परिमार्जन अपरिहार्य रहेको बताए। “शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ। व्यक्तित्व निर्माणमा शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ,” उनले भने।
अर्को प्रसंगमा, सहकारी ठगी अभियोग लागेका जीवी राईलाई पक्राउ गर्ने प्रक्रियाबारे सोधिएको प्रश्नमा उनले गोपनीयताको कारण हाल सार्वजनिक रूपमा टिप्पणी गर्न नमिल्ने बताए। “मन्त्रीको जिम्मेवारीसँगै गोपनीयताको शपथ पनि लिइन्छ, त्यसैले सबै कुरा खुलाउन मिल्दैन,” उनले भने।
मन्त्री गुरुङ शनिबार राति चितवन पुगेका थिए। भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा उनलाई प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।






