लुलिया घुम्ती मर्मत गर्न स्थानीयको श्रमदान अभियान

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–६ अन्तर्गत पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलिया घुम्ती खण्ड मर्मतका लागि स्थानीयले श्रमदान अभियान सुरु गरेका छन्।

दुर्घटना बढ्न थालेपछि पोखरेबगर–घोडेपानी सडकखण्डमा समुदायस्तरबाट मर्मत कार्य थालिएको हो।

आइतबार सुरु भएको अभियानमा पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ७८ जना सहभागी भएका छन्।

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको सामग्री प्रयोग गरी १३ घनमिटर पर्खाल निर्माण गरिएको छ भने करिब १५ मिटर दूरीमा ढुङ्गा बिछ्याएर सोलिङ गरिएको पोखरेबगर युवा क्लबले जनाएको छ। मर्मत कार्य सोमबार पनि निरन्तर रहने बताइएको छ।

वडाध्यक्ष रामबहादुर खड्का र स्थानीय युवाको समन्वयमा सञ्चालन भएको अभियानमा मुक्तिनाथ केबुलकार प्रालिले ५० हजार रुपैयाँ सहयोग गरेको छ। यातायात व्यवसायीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

लुलिया घुम्ती र हल्लेखर्क क्षेत्रमा पहिरो, साँघुरो सडक र अव्यवस्थित मोडका कारण सवारी आवागमन जोखिमपूर्ण बन्दै आएको छ।

सवारी उक्लन नसक्ने, बीचमै रोकिने र दुर्घटना हुने समस्या बढेपछि स्थानीयले अस्थायी समाधानका लागि श्रमदान थालेका हुन्।

संघीय बजेटबाट सडक स्तरोन्नति गर्ने योजना कार्यान्वयनमा ढिलाइ हुँदा जोखिम बढेको जनप्रतिनिधिहरूको भनाइ छ।

दीर्घकालीन सुधारका लागि बजेट विनियोजन भए पनि कार्यान्वयन अन्योलमा परेको उनीहरूले बताएका छन्।

लालीगुराँस फुलेसँगै घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चाप बढिरहेको बेला सडकको जीर्ण अवस्थाले आवागमनमा थप समस्या सिर्जना गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *