कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आएका छन् । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका छन् ।
सार्की परिवारका पुख्र्यौली पेसा छाला जुत्ताको कार्य हो । छाला जुत्ताको कार्यबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उहाँले साइकल मर्मत गर्ने पसल सञ्चालन गर्नुभएको हो । साइकलका पाटपूर्जासँगै पञ्चर बनाउने, लहर निकाल्ने, तिल्ली राख्ने, गोली, कटौरी राख्ने कार्यसँगै नयाँ टायर टयुबलगायत राख्ने कार्य उनले गर्छन् । यस कार्यबाट सार्कीले रु १५ हजारदेखि रु २० हजारसम्म कमाइ गर्छन् ।
दातृ निकायले अनुदानमा हावा भर्ने कम्प्रेसर मेसिन उपलव्ध गराएपछि साइकलसँगै उनले मोटरसाइकलको पञ्चरसमेत जोडने कार्य गर्न थाल्नु भएको छ । “मेसिन उपलब्ध भएपछि आम्दानी बढेको छ”, उनले भने, “छ जनाको परिवारको खर्च यसबाटै चल्न थालेको छ ।” पहिला पसलमा थोरै मात्र सामान हुँदा थोरै आम्दानी हुन्थ्यो । मुस्किलले महिनाको रु आठ हजार आम्दानी थियो ।” कमाइबाट रकम बचत हुँदै जान थालेपछि पसलमा सामान थपिएपछि आम्दानी बढ्दै गएको उनले बताए । रु २० हजारबाट सञ्चालन गरेको पसलमा हाल रु दुई लाख जति लगानी गरिएको उनको भनाइ रहेको छ ।
साइकल पसल चलाउनु अघि सार्कीले अरुको खेत अधिँयामा लगाएर परिवारका लागि अन्नको जोहो मिलाउँदै आएका थिए । पसल चल्न थालेपछि यसबाटै घरखर्च चल्न थालेको छ । “थोरै पूँजीको काम गरेपनि निरन्तर लागिरहे परिवारको खर्च चलाउन अप्ठेरो नहुने रहेछ”, उनले भने, “अरुको भन्दा आफ्नै काम गरे सहज रुपमा जीविका चलाउन सकिँदो रहेछ ।”
हरेन्द्रजस्तै वन समिति बजारमै छाला जुत्ताको कार्य गदैै आएका कसरौलका मन्दिर सार्कीले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले नयाँ जुत्ता बनाउने, पुराना जुत्ता चप्पल सिउने लगायतका कार्य गरी आम्दानी गर्दै आएका हुन् । “छोराले नयाँ जुत्ता बनाउने काम गर्छन्” उहाँले भन्नुभयो, “मैले पुराना जुत्ता सिउने र मर्मत गर्ने काम गर्दछु । यसबाटै परिवारको खर्च चल्छ ।” सार्कीले पाँच छोरी र तीन छोराको विवाहको खर्च यसै व्यवसायबाट धानेको बताउँछन् ।
“घरबासका लागि मात्रै जग्गा छ”, उनले भने, “माइलो छोराले मसँगै छाला जुत्ताको काम गर्छ । दुई छोरा भारतमा काम गर्ने भएकाले परिवारको खर्च चलाउन सहज भएको छ ।” स्थानीय तहमा पाँच वर्षमा निर्वाचित हुने जनप्रतिनिधिले हालसम्म गरी खाने वर्गका व्यक्तिका लागि कुनै पनि योजना नल्याएकोमा उनी असन्तुष्टि व्यक्त गर्छन ।
“अहिले चुनावका लागि उम्मेदवारले प्रचारप्रसारको काम गरिरहेका छन्”, उनले भने, “हाम्रा दुःखलाई सम्झेर उत्थानका योजना ल्याई काम गर्ने भए मत माग्न आउनोस् । नभए मतनै नमाग्नोस् भनेको छु । सबैले काम गर्ने प्रतिबद्धता गरेका छन । पत्यार लाग्नेलाई मात्रै मतदान गर्छौ ।”






