काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ ।
कानुन मन्त्रालयको परिपत्र र गृह मन्त्रालयको निर्देशनअनुसार यस्तो कडाइ गरिएको हो। नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाका अनुसार यसअघि लामो समयदेखि कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रकै आधारमा सहज रूपमा प्रवेश पाउँदै आएका थिए।
२०४६ सालदेखि लागू रहेको व्यवस्था अनुसार, सिंहदरबारभित्र रहेको प्रशासकीय अदालत लगायतका निकायमा काम गर्न कानुन व्यवसायीहरूलाई प्रवेश आवश्यक मानिँदै आएको थियो। तर नयाँ सरकार आए लगतै कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।
कानुन मन्त्रालयको परिपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाएपछि नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले कानुन सचिव र गृह सचिवलाई ध्यानाकर्षण गराएको बताए ।
नेपाल बारले महान्यायाधिवक्तालाई पनि कानुन व्यवसायीलाई रोक लगाएकोमा ध्यानाकर्षण गराएको छ । आज(बुधबार) नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई पनि ध्यानाकर्षण पत्र पठाउँदैछ ।
यसैबिच प्रशासकीय अदालतका रजिस्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीको हकमा नागरिक एपको सिंहदरबार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाएका छन् ।







