काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

काभ्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ले काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा होटल तथा रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरेको छ।

डिभिजन कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टको स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका, २०७४’ अनुसार मूल्याङ्कन गरी लोगो वितरण गरेको हो।

डिभिजन प्रमुख मनिष चापागाईं को नेतृत्वमा गएको टोलीले ५० सूचकका आधारमा होटलहरूको मूल्याङ्कन गरेको जनाएको छ। प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कअनुसार होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ।

कार्यालयका अनुसार ९० भन्दा बढी अङ्क प्राप्त गर्ने होटललाई ‘अतिउत्तम’ (तीन तारे हरियो लोगो), ८०–८९ अङ्कलाई ‘उत्तम’ (दुई तारे हरियो लोगो), ६५–७९ अङ्कलाई ‘सन्तोषजनक’ (एक तारे हरियो लोगो) र ५०–६४ अङ्कलाई ‘सामान्य’ (पहेंलो लोगो) प्रदान गरिने व्यवस्था छ।

मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन, बनेपाको आगन्तुक रिसोर्ट र हिमालय दृश्य तथा पनौती–बल्थलीस्थित थुम्की रिसोर्टले ‘अतिउत्तम’ श्रेणी प्राप्त गरेका छन्। त्यस्तै बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले ‘उत्तम’ श्रेणी हासिल गरेका छन्।

अनुगमन टोलीमा निराजन जङ्गम, प्रह्लाद प्याकुरेल, रजित पलाञ्चोके र माधव श्रेष्ठ लगायतको सहभागिता थियो।

कार्यालयले जिल्लाभरका होटल तथा रेष्टुरेन्टमा क्रमशः अनुगमन जारी राख्ने जनाएको छ। साथै, स्तरीकरणपछि पनि सुधार नभए छ महिनापछि पुनःनिरीक्षण गर्दा श्रेणी घटाइने चेतावनी दिइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *