काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार अब देशभरका बैंक तथा वित्तीय संस्थाहरू सातामा पाँच दिन मात्र सञ्चालन हुने भएका छन्। शनिबार र आइतबार सार्वजनिक बिदा रहने व्यवस्था लागू गरिएको हो।
नेपाल राष्ट्र बैंकले चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समयतालिका सार्वजनिक गर्दै सोमबारदेखि शुक्रबारसम्म मात्रै बैंकिङ सेवा सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार बैंकिङ कारोबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ।
सरकारको निर्णयसँगै सबै बैंक तथा वित्तीय संस्थाहरूले पनि उक्त समयतालिका लागू गरिसकेका छन् र सोमबारदेखि नै नयाँ समयअनुसार सेवा प्रवाह सुरु भएको छ।
यसैगरी, केन्द्रीय बैंकका कार्यालयहरू बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछन्। तर कात्तिक १६ देखि माघ १५ सम्मको जाडो अवधिमा भने कार्यालय समय छोट्याइनेछ। सो अवधिमा बैंकिङ कारोबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मात्र हुने व्यवस्था गरिएको छ।






