काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले चैत २२ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:१ को दरमा हकप्रद सेयर जारी गरेको हो। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता सेयर निष्काशन गरिएको छ, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुन्छ।
हकप्रद निष्काशनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १३ गते तोकिएको छ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
हाल ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको पूँजी हकप्रद निष्काशनपछि ८० करोड रुपैयाँ पुग्नेछ।
हकप्रदमार्फत संकलित रकम कम्पनीले आयोजनामा लिएको ऋण आंशिक रूपमा भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ। कम्पनीले सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक सहित चार बैंकबाट लिएको कुल ९६ करोड ९० लाख रुपैयाँभन्दा बढी ऋण बाँकी रहेको छ।
हकप्रदबाट उठेको रकमबाट आंशिक ऋण भुक्तानी गरेपछि कम्पनीको बाँकी ऋण करिब ५६ करोड ९० लाख रुपैयाँ रहनेछ।






