काठमाडौं। परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ। .
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए।
उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ। एकजना वकिलले भेटिसक्नु भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ।’
यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ।
उडान प्रभावित भएकाले शव ल्याउन समस्या भएको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ शव नेपाल ल्याउन बाँकी छन्।
घाइतेमध्ये अधिकांशले सामान्य उपचारपछि फर्किएको बताइएको छ। हालसम्म ११ जना नेपाली पक्राउ परेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।






