काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण लाई निर्देशन दिएको छ।
सञ्चारमन्त्री डॉ. विक्रम तिमिल्सिना को अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार निर्देशनपछि प्राधिकरणले सेवा प्रदायक (अपरेटर) लाई सूचित गर्दै बन्द गर्ने प्रक्रिया सुरु गरिसकेको छ।
यसअघि नेपाल सरकार मन्त्रिपरिषद् ले चैत १३ मा अवैध रूपमा सञ्चालन भइरहेका बेटिङ प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार सरकारले १०० बुँदे शासकीय सुधार कार्यसूचीमार्फत देशभर सञ्चालनमा रहेका यस्ता एप र वेबसाइट तत्काल बन्द गर्ने नीति लिएको हो।
सरकारले अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।
साथै मन्त्री तिमिल्सिनाले मन्त्रालयलाई सेवा प्रवाह सुधार, डिजिटल शासन र डेटा गभर्नेन्समा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन्।






