प्रलोभनमा परी कम्बोडियामा पुगेका २० जना अलपत्र नेपालीको उद्धार

काठमाडौँकम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ। रोजगारीको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको हो।

उनीहरू बुधबार कम्बोडियाबाट उडेर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उद्धार कार्य गैरआवासीय नेपाली संघ (कम्बोडिया) को सहजीकरणमा बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकारसँगको समन्वयमा सम्पन्न गरेको हो।

दूतावासका अनुसार उद्धार गरिएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन। उनीहरूलाई अनलाइन स्क्यामिङ केन्द्र, ठगीमा संलग्न क्यासिनो र अन्य अवैध गतिविधिमा संलग्न गराइएको थियो भने केही व्यक्तिहरू भिसाविहीन अवस्थामा बसिरहेका थिए।

कम्बोडियामा अझै केही नेपाली अलपत्र परेको सूचना प्राप्त भएकाले उनीहरूको उद्धारका लागि पनि पहल जारी रहेको दूतावासले जनाएको छ।

त्यस्तै, कम्बोडियामा समस्यामा परेका नेपालीहरूलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२१ मा १०१ जना पुगेका नेपालीहरूको संख्या २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ पुगेको देखिन्छ।

दूतावासले वैदेशिक रोजगारीका नाममा हुने प्रलोभनबाट सचेत रहन र थाइल्याण्ड, लाओस, म्यानमार लगायत मुलुकमा जानुअघि नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिन आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *