चौरहजारी नगरपालिकाका प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले नगरप्रमुख वादीसहित उनलाई घुस दिने कर्मचारी मोहन शाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाह नगरपालिकामा असिस्टेन्ट सबइन्जिनियरको रूपमा करार सेवामा काम गर्दै आएका थिए ।

नगर प्रमुख वादीले आर्थिक वर्ष २०७९/०८० मा करार म्याद थप गरिदिने सर्तमा मोहन शाहसँग १ लाख घुस लिएका थिए। शाहले २०८० साउन ८ गते वादीको बैंक खातामा उक्त रकम जम्मा गरेको प्रमाणसमेत पेश भएको जनाइएको छ।

आयोगका अनुसार घुस रकम दिएपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदमा करार म्याद थप गरिएको थियो। तर पुनः आर्थिक वर्ष २०८२/०८३ का लागि नवीकरण गर्न थप रकम मागिएको र उपलब्ध गराउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख छ।

अनुसन्धानबाट नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको पुष्टि भएको आयोगको दाबी छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर लगाइएकाे छ ।

उक्त कसुरमा बिगो १ लाख कायम गरी कैद, जरिवाना र घुस रकम जफतको माग गरिएको छ। साथै सार्वजनिक पदमा रहेका कारण थप सजायको माग पनि गरिएको छ।

यस्तै, मोहन शाहले पनि पदमा निरन्तरता पाउन मोलाहिजा गरी घुस दिएको अभियोगमा सोही ऐनको दफा ३(३) अन्तर्गत कसुर गरेको ठहर गरिएको छ। उनीमाथि पनि बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफतको माग गरिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *