कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरे । सम्झौता पश्चात् मेगा बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताए । महिला उद्यमीहरुलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताए ।

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए । मेगा बैंकले कर्जाका साथ साथै महिला उद्यमीहरुलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आईरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *