जलाशय डुबान क्षेत्रका बासिन्दाका लागि वानटाङ खोलामा पक्की पुल निर्माण सुरु

तनहुँ — भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना को सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल बनाउन थालिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीले नदीको बायाँ किनारबाट जग खन्ने काम सुरु गरेका छन्।

आयोजनाको जलाशयका कारण डुबानमा पर्ने भिमाद–ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा स्थायी पुल निर्माणका लागि विसं २०८१ फागुन २८ गते सपना निर्माण प्रालिसँग ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा सम्झौता गरिएको थियो।

मूल्य अभिवृद्धि करसहित २३ करोड ७ लाख रुपैयाँमा भएको ठेक्का सम्झौताअनुसार ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने कार्यतालिका छ। निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण दुवै जिम्मेवारी वहन गर्नेछ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडातर्फ जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा हजारौँ नागरिकले सास्ती खेप्दै आएको बताए। वानटाङ सेती नदीको सहायक खोला हो।

आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सिमानामा १४० मिटर अग्लो बाँध निर्माण गरिरहेको छ।

समुद्री सतहबाट ४१५ मिटरसम्म फैलिने जलाशयका कारण स्थानीय बासिन्दाको आवतजावतमा अवरोध हुने भएपछि आवागमन सहज बनाउन पुल निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *