जिल्लाका बस्तीहरूमा झन्डै तीन हजार उम्मेदवार भोट माग्न व्यस्त छन् । सोमबारबाट बिहान ६ बजेदेखि अबेर रातिसम्म उम्मेदवारहरू मतदातालाई भेट्दै आफ्नो लागि भोट माग्न व्यस्त छन् । तर, भोट किन दिने भन्ने मतदाताको प्रश्नमा विश्वासिलो जवाफ दिन भने उम्मेदवारले सकिरहेका छैन् ।
जिल्लाका उम्मेदवारहरूसँग लिखित घोषणापत्र छैन । १५ पालिकामा २ हजार ९ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू आ–आफ्ना लागि भोट माग्दै घरदैलोमा छन् । तर, लिखित घोषणापत्र नहुँदा वडा, गाउँ तथा नगरको विकासमा ‘यी काम’ गर्छु भनेर उनीहरूले कुनै आधार देखाउन सकिरहेका छैनन् ।
‘अहिलेसम्म केन्द्रकै घोषणापत्रमा उल्लेखित शिक्षा, स्वास्थ्य र विकासका एजेन्डाहरू देखाएर भोट मागिरहेका छौं’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बिर्तामोड नगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार रञ्जु प्याकुरेलले भनिन् । उनले १७ गतेसम्म स्थानीय घोषणापत्र सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिइन् । ‘स्थानीय घोषणापत्र ल्याउन अलि ढिला भएको छ । तर, सबै तयारी भएर प्रेसमा पुगिसकेको छ । १७ गते सार्वजनिक गर्ने गरी काम गरिरहेका छौं’ उनले भनिन् ।
एमाले र कांग्रेसका उम्मेदवारहरू पनि एजेन्डाविहीनजस्तै भएर भोट मागिरहेका छन् । उनीहरूसँग पनि लिखित घोषणापत्र छैन । एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले शुक्रबारसम्म सबै पालिका स्तरीय प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्ने बताए । ‘एक–दुई वटाको तयार भइसकेको छ । मेचीनगरले सार्वजनिक पनि गरिसक्यो । अरूको पनि प्रेसमा धमाधम काम भइरहेको छ । शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेका छौं’ कार्कीले भने । लिखित घोषणापत्र नहुँदा उम्मेदवारलाई भोट माग्न भने गाह्रो भइरहेको राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले बताए ।
कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार पनि एजेन्डाविहीन जस्तै छन् । घोषणापत्र तयार नहुँदा गठबन्धनका उम्मेदवारलाई पनि भोट माग्न गाह्रो भइरहेको कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईले बताए । कांग्रेसले घोषणापत्रको ड्राफ्ट तयार गरिसकेको जानकारी उनले दिए । ‘गठबन्धन भएकाले हामीले माओवादीको घोषणापत्र पर्खिरहेका छौं । उहाँहरूको पनि ड्राफ्ट आयो भने दुवै मिलाएर घोषणापत्र बनाउने तयारी गरेका छौं’ हुमागाईंले भने । कान्तिपुरमा प्रकाशित छ ।






