विशेष महाधिवेशनबारे सहमतिको पहल गर्न देउवामाथि शेखर कोइरालाको दबाब

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन्। महाराजगञ्जस्थित देउवा निवासमा आज भएको भेटमा नेता कोइरालाले पार्टीभित्र को के हुने भन्नेभन्दा पनि कांग्रेसको एकता जोगाउनु सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन्।

महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुने गरी समाधान खोज्नुपर्ने भन्दै कोइरालाले देउवाको ध्यानाकर्षण गराए। भेटका क्रममा उनले पार्टी विभाजनको पीडा आफूले स्वीकार गर्न नसक्ने उल्लेख गर्दै भने, “म कोइराला हुँ, पार्टी विभाजन भएको हेर्न सक्दिन। विभाजनको पीडा तपाईँले पनि भोग्नुभएकै छ। के के गर्नुपर्छ गरौँ, विभाजन रोकौँ।”

जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको बताउँदै सबै पक्षसँग संवादका लागि तयार रहेको बताएका छन्। छलफलका क्रममा कोइरालाले महामन्त्रीहरूले भृकुटीमण्डपमा आह्वान गरेको विशेष महाधिवेशनलाई संकल्प सभाका रूपमा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *