काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ ।
अर्थ मन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८.७४ प्रतिशत हो ।
गत वर्षको सोही अवधिको तुलनामा राजश्व १.६८ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठेको जानकारी दिए । उनकाअनुसार राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ ।
तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले गिरावट आएको छ। नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उनको भनाइ छ । उनकाअनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो ।
घरजग्गा कारोबार सुस्त हुँदा पुँजीगत लाभकरमा समेत कमी आएकोले मंसिरसम्मको राजश्व लक्ष्य हासिल गर्न कठिनाइ भएको उनले बताए।
घरजग्गाका कित्ताकाट खुलिसकेको र शेयर बजारमा पनि केही सुधारको संकेत देखिएकाले आगामी दिनमा राजश्व संकलन बढ्ने अर्थ मन्त्रालयको विश्वास छ। मन्त्रालयका अनुसार आसन्न निर्वाचन तथा पुनर्निर्माणसम्बन्धी खर्चले आर्थिक गतिविधि बढाउने लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ।






