काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले महामन्त्रीहरूले आफ्नो पदीय दायित्व पूरा गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन्।
सभापतिमाथि भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दा महामन्त्रीहरूले पदीय दायित्व पूरा गर्न नसकेको उनको भनाइ छ । ‘दुई महामन्त्रीहरू असफल भइसक्नुभएको छ, पदीय दायित्वबाट बिदा लिनुपर्दछ,’ बस्नेतले भने ।
बस्नेतले महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा भइरहेको विशेष महाधिवेशनको मागलाई ‘सङ्गठन कब्जा गर्ने षड्यन्त्र’ को संज्ञा दिए । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आतङ्कवादी गतिविधि भएको बताए ।
‘विशेष महाधिवेशन किन ? केका लागि ? नीति परिवर्तन कि नेतृत्व परिवर्तनका लागि,’ बस्नेतले भने, ‘आजको प्राथमिकता नेतृत्व परिवर्तन नभई पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणाली पुनरावलोकन हो ।’
नियमित महाधिवेशन महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नटुङ्ग्याएर तत्काल हुन सम्भव नदेखिएको बताए ।
‘नियमित महाधिवेशन कसले रोकेको छ ? क्रियाशील सदस्य व्यवस्थापन समितिको संयोजक स्वयं महामन्त्रीज्यू हुनुहुन्छ, तर काम नगर्ने र दोष अरूलाई थोपर्ने प्रवृत्ति किन ?,’ बस्नेतले प्रश्न गर्दै भने ।







