सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

काठमाडौं । सागर डिष्टिलरीले आज (भदौ २५ गते) देखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।

अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *