रौनकको शतक, विपिनको चार विकेट: भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं । रौनक श्रीवास्तवको शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो ।

भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए ।

सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले पनि २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । आजको खेलमा नेपालका २ ओपनर चाँडै आउट भएका थिए । १७ रनमा २ विकेट गुमाएपछि रौनकले शिवांशसँग मिलेर ९१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनको साझेदारी गरे । सुगमले ३५ रन बनाए ।

त्यसपछि १८०-४ को अवस्थाबाट रौनकले जोयसँग मिलेर १७० रनको साझेदारी गरे । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *