काठमाडौं । जापानमाथि नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा सहज जित हासिल गरेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो ।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन जोडे । प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे । ओपनर जोय थापा १ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटियो । नेपालको उत्कृष्ट बलिङ सामू जापानको ब्याटिङ चल्न सकेन ।
जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रन बनाए ।
नेपाली बायाँ हाते स्पिनर शुभम खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।







