काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवेल नेपाल’ र ‘सजिलो पे पेमेन्ट’ को अनुमति खारेज गरेको छ ।
यी दुई कम्पनीले भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन तथा सम्पत्ति शुद्धिकरण निवारण ऐनका विभिन्न प्रावधान उल्लंघन गरेको पाइएपछि अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार भुक्तानी तथा फछ्र्योट ऐन २०७५ को दफा ३५ को व्यवस्था अनुसार ती कम्पनीको लाइसेन्स खारेज गरिएको हो ।
राष्ट्र बैंकले मनी लन्डरिङ निवारण ऐन, २०६४ तथा अन्य प्रावधानहरूको समेत उल्लंघन गरेको ठहर गर्दै २०८२ साल असार ४ गतेको सञ्चालक समितिको निर्णयअनुसार अनुमतिपत्र खारेज गरिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सबै सरोकारवालालाई यसबारे जानकारी गराएको छ र उक्त कम्पनीहरूसँग कारोवार गर्दा सावधानी अपनाउन पनि आग्रह गरेको छ ।
यसअघि हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का गरेको थियो।








