काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएकाे छ ।
आज पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकहरुको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए ।
उनले भने, “नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकहरुको माग अत्यन्तै उच्च छ । सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।”
दिवंगत तीर्थरत्न बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्री यादवले स्व बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गर्नुभएको र उहाँको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे ।
उनले भने, “दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठूलो छ । उनको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पतल र यहाँका बिद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहन्छ ।”
कार्यक्रमका विशिष्ठ अतिथि एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्रप्रशाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार, र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको कुरमा जोड दिए ।
पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा एमबिबिएसको पढाई सुचारु गर्नका लागि भैतिक लगायतका अन्य प्रक्रिया अघि सारिएपनि अहिले सम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनासो व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष बिद्याभुषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रवन्ध निर्देशक रोशन लुईटेल, प्राचार्य प्रा डा सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।







