काठमाडौं । जापानी बहुराष्ट्रिय अटो निर्माता टोयोटाले चिनियाँ ईभी नेटालाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ। कुवाई टेक्नोलोजीको मे १२ को एक रिपोर्टले टोयोटाले नेटालाई एक्विजिसन गर्ने तयारी गरिरहेको बताएको हो।
चिनियाँ ईभी निर्माता नेटालाई यसले जीवनदान प्राप्त हुने र चिनियाँ बजारमा टोयोटालाई पनि बजार पकड बलियो बनाउन मद्दत मिल्ने उक्त रिपोर्टमा उल्लेख छ।

२०१४ मा होजोन् न्यू इनर्जी अटोद्वारा स्थापना गरिएको नेटा अटो २०२४ को मध्यतिरदेखि आर्थिक संकटमा फसेको छ। उत्पादन रोकिनुका साथै ठूलो मात्रामा कर्मचारी कटौती गरिएको छ। कम्पनीले निरन्तर बाह्य लगानीको प्रयास गर्दै आएको छ।
वित्तीय संकट परेपछि कम्पनीले बाहिरबाट लगानी खोजिरहेको छ। यस वर्ष फेब्रुअरी १० मा नेटाले ४ देखि साढे ४ अर्ब युआनबराबरको एक असफल ई–राउन्ड वित्तीय योजना सार्वजनिक गरेको थियो। त्यसमा मुख्य लगानीकर्ताको रुपमा एउटा ब्रिक्स राष्ट्रको ३ अर्ब युआन लगानीको प्रतिबद्धता आएको थियो तर त्यसले अपुग हुने भएपछि आउँदै आएन।

टोङसियाङमा रहेको नेटाको कारखाना केही समयका लागि पुनः खोलिए पनि पार्टपुर्जाको अभावले गर्दा उत्पादन अघि बढ्न सकेन। त्यसपछि प्रमुख लगानीकर्ताहरूले हात झिके र कम्पनीको मूल्याङ्कनमा ८० प्रतिशतसम्म गिरावट आयो।
नेटाले तीन वर्षको अवधिमा १८.३ अर्ब युआन (२.५३ अर्ब अमेरिकी डलर) बराबरको घाटा बेहोरेको छ। साथै, आपूर्तिकर्ताहरूलाई ६ अर्ब युआन (८२८ मिलियन अमेरिकी डलर) तिर्न बाँकी छ। कम्पनीले ७०% आपूर्तिकर्ता ऋणलाई इक्विटीमा रूपान्तरण गर्ने प्रस्ताव राखेको छ भने बाँकी रकम किस्ताबन्दीमा तिर्ने योजना अघि सारेको छ।
यदि तत्काल पूँजी अभाव टारेन भने कम्पनीले ज्याला र सामाजिक सुरक्षा भुक्तानीमा चुकान हुन सक्ने चेतावनी दिएको छ। सम्भावित दिवालियापनको अवस्थामा राज्य-समर्थित लगानीकर्तालाई प्राथमिकता दिइने भएकाले आपूर्तिकर्ता झनै जोखिममा पर्नेछन्।

थाइल्याण्डमा नेटा अटोले स्थानीय उत्पादन लक्ष्य नपुगेको खण्डमा, प्रति गाडी १५०,००० भाट (४,१०० अमेरिकी डलर) बराबरका अनुदान तथा कर छुटहरू फिर्ता गर्नुपर्ने अवस्था सिर्जना हुनसक्नेछ। यदी टोयोटाले नेटा अटोको अधिग्रहण अघि बढायो भने चिनियाँ बजारमा आफ्नो ईभी रणनीति तीव्र गतिमा विस्तार गर्न सक्नेछ। नेटा अटोसँग रहेको प्राविधिक क्षमता आपूर्ति श्रृंखला र स्थानीय बजारको अनुभव टोयोटाका लागि उपयोगी हुनसक्छ।
२०२४ मा नेटाको बिक्री घटेर ६४,५०० युनिटमा झर्यो भने जनवरी २०२५ मा केवल ११० गाडी मात्र बिक्री भए — जुन वार्षिक रूपमा करिब ९८% गिरावट हो। कम्पनीको प्रविधि पुरानो भएको र प्रदर्शनसम्बन्धी दाबीहरू अतिरञ्जित भएको आरोप लाग्दै आएको छ।
कम्पनीका संस्थापक फ्याङ युन्झाउको माफी माग्दै गरेको भाइरल भिडियोले संकटको गहिराइलाई झनै उजागर गरेको छ।






