काठमाडाैं । हुवावेले विश्वव्यापी रूपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागसीप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५ मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको छ ।
‘बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड वाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरू भएको उक्त कार्यक्रम नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरसम्मको पहुँच स्थापित गर्न सघाउने उक्त कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते (मे ७ तारिखदेखि मे २५) सम्म आवेदन दिनसक्ने हुवावे नेपालले जनाएको छ ।
‘हुवावेको यो कार्यक्रम सूचना प्रविधिमा रूचि राख्ने स्नातक तहमा अध्ययनरत विद्यार्थीका लक्षित गरिएको छ,’ हुवावेले भनेको छ, ‘इनोभेसन, डिजिटलाइजेसन, दिगोपन, उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानमा रूचि राख्नेका लागि यो कार्यक्रम तयार पारिएको हो।’
नेपालमा आयोजना हुन लागेको यो छैटौँ संस्करणको कार्यक्रम हो । हुवावेले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गरिसकेको छ। नेपालबाट हालसम्म यस कार्यक्रममा १५० जना सहभागी भइसकेका छन् ।






