काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको ३१ करोड ९० लाख ७१ हजार ८२० रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।
बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर आज (चैत ३ गते) देखि लिलामीमा राखेको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा सीआईटीको ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
यसमा सीआईटीको बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । अन्य ४ कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।
सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
Artha Sanjal






