काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको पद खारेजीसँग सम्बन्धित रिटको आज सुनाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र बालकृष्ण ढकालको संयुक्त इजालमा उक्त रिटको पेशी तोकिएको छ।
ललितपुर- ३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले लाभको पद लिएको भन्दै खारेज गरेको थियो।
२०७९ मंसिर ४ गतेका लागि भएको चुनावमा उम्मेदवारी दिएकी कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको भन्दै आयोगले खारेज गरेको थियो।
उक्त निर्णयविरुद्ध कार्कीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेज बदर गर्न अन्तरिम आदेश दिएको थियो।
उक्त रिटमा सर्वोच्चले अन्तिम सुनुवाइ सकेर आदेश सुनाउन लागेको हो।






