काठमाडौं । आर्थिक मिडियाको प्रतिनिधि संस्था इकोनमिक मिडिया एसोसिएसन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सव र तेस्रो वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले आर्थिक मिडिया क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका लाइभ सेवा मिडिया प्रा.लि. तथा आर्थिक प्लस डटकमका अध्यक्ष अमिर लामालाई विशेष सम्मान प्रदान गरे ।
सम्मान ग्रहण गर्दै अमिर लामाले आर्थिक पत्रकारिताको विकास र सुधारका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक मिडियाको भूमिका र यसले समाजमा पुर्याउन सक्ने प्रभावबारे पनि आफ्नो विचार राखे ।
सभामुख घिमिरेले कार्यक्रममा प्रेस स्वतन्त्रताको महत्त्वमा जोड दिँदै यसलाई सुरक्षित राख्नुपर्ने आवश्यकता बताए । उनले संविधानले प्रदान गरेको मौलिक अधिकारको रक्षा गर्नुपर्ने र प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य रहेको बताए ।
इमानका अध्यक्ष, सदस्यहरू, विभिन्न आर्थिक मिडियाका प्रतिनिधिहरू तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आर्थिक मिडिया क्षेत्रको एकतालाई अझ मजबूत बनाउने र यसको प्रवर्द्धनमा सकारात्मक योगदान दिने संकेत गरेको छ ।
कार्यक्रमले आर्थिक मिडियाको भूमिका र महत्त्वलाई पुनः प्रष्ट्याउँदै यस क्षेत्रमा निरन्तर सुधार र विकासका लागि आवश्यक कदम चाल्न आह्वान गरेको छ ।






