राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ कार्यक्रमका लागि सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिका, जुम्ला, कर्णाली बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ ।

बढीमा १० लाख रुपैंयासम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ र गाउँपालिकाले आफ्नो कोषबाट ऋणिलाई एक प्रतिशत ब्याज अनुदान दिने छ । हाल बैंकको आधार दर ५.४४ प्रतिशत रहेको छ ।

यो कर्जा लगानी पश्चात कृषि उपजको व्यवसायिक उत्पादन भई स्वरोगारमा बृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा सिंजा गाउँपालिकाका २ न.वडाका वडा अध्यक्ष तिर्थ वड, बैंकका कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतम लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *