राजा ज्ञानेन्द्रद्वारा चेतावनीमूलक सन्देश: “आफ्नो त्यागलाई कमजोरी नसम्झनु”

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेकोको कुरालाई कमजोरीको रुपमा नलिन दलहरुलाई चेतावनीमूलक सन्देश दिएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा व्यक्ति शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले नेपालको उन्नतिका लागि आफूहरुले के के त्याग गर्नुपर्ने हो तयार रहेको बताउँदै भनेका छन्– नेपाल जोगाउने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ लिन देशबासीलाई आह्वान गर्दैछौँ ।’

प्रजातन्त्रको कुरा गर्दा वादविवाद र द्वन्द्व, विरोध र प्रतिरोधको अर्थले रोजिन नहुने राजा ज्ञानेन्द्रको भनाई छ । ‘सुन्दर शब्दले मात्र होइन व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवा भाव र आचरण चाहिन्छ’ भन्दै सन्देशमा निषेधको दृष्टिकोणले प्रजातन्त्रलाई बलियो नबनाउने बताइएको छ ।

राजा ज्ञानेन्द्रको भनाई छ, ‘पक्ष र विपक्षको अहंकार र आफ्नै आफ्नै किसिमको हठले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन । देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । होनहार युवा ताँती लाएर बाहिरिएका छन् । नेपालीको पसिना आफ्नो माटोमा नभइ अन्तै पोखिएको छ ।’

व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुखद कुरा भएको बताउँदै उनको थप भनाई छ, ‘यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने परिकल्पना हो । हामीले उदारता राख्दै आयौं । जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेका हौं । त्यागलाई कसैले कमजोरी ठान्नु हुँदैन । हाम्रो त्यागको अर्थ सबैलाई समेटेर जाने हो । हाम्रो इतिहासलाई मेटाएर हामी उभो लाग्दैनौं भन्ने हेक्का राखेर अघि बढौँ ।’

गणतन्त्र घोषणापछि गद्दिविहीन भएका राजा ज्ञानेन्द्रले खस्किँदो उद्योग व्यवसाय, शिक्षा क्षेत्रको बिग्रिँदो अवस्था र बढ्यो युवा पलायनप्रति बढि चिन्ता प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *