काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
सीडीएससीका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा हिजो माघ २१ गते साँझ ५ बजेसम्म ५० हजार २३० जनाले १६ लाख २० कित्ता खरिका लागि आवेदन दिएका छन् । यो भनेको मागभन्दा ७.११ गुणा बढीले ओभरसब्सक्राइब्ड हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्राथबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।






