आजदेखि नेपाल टेलिकमको सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने

काठमाडाैं । नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तरराष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ ।

कम्पनीका अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तरराष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तरराष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ ।

सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सकिने पनि कम्पनीको भनाइ छ ।

अन्तरराष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरुले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।कम्पनीले रोमिङ सेवा उपलब्ध गराएका भारत वाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ ।

भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तरराष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।

कम्पनीको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको कम्पनीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *