भक्तपुर ।यातायात व्यवस्था कार्यालय राधेराधेले दुईपांग्रे र चारपांग्रे सवारीका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न करिब ६ महिना लाग्ने जनाएको छ।
कार्यालयले मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै तथा २०२५ का केही लाइसेन्स वितरण सुरु गरेको हो।
बिहीबारसम्म करिब तीन हजार लाइसेन्स वितरण भइसकेको सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए।
उनका अनुसार हाल दैनिक करिब एक हजार लाइसेन्स मात्र वितरण गर्न सकिने अवस्था छ। ‘आठ कर्मचारी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खटिँदा पनि दैनिक एक हजारभन्दा बढी वितरण गर्न सकिँदैन,’ उनले भने, ‘यही गतिमा सबै लाइसेन्स वितरण गर्न झन्डै ६ महिना लाग्छ।’
अझै करिब एक लाख लाइसेन्स छपाइ भएर आउन बाँकी रहेको उनले बताए।
लाइसेन्स वितरण सुरु भएसँगै चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको भीड बढेको छ। बिहान ७ बजेदेखि नै सेवाग्राही कार्यालय पुग्ने गरेका छन् भने कार्यालय खुलेलगत्तै वितरण प्रक्रिया सुरु गरिने गरिएको छ।
कार्यालयले सेवाग्राहीलाई अनावश्यक भीड नगर्न आग्रह गर्दै लाइसेन्सको बिल वा मोबाइल एपमार्फत पनि लाइसेन्स देखाउन सकिने जनाएको छ।
नवीकरणका लागि आवेदन दिएका तथा लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेर पनि लाइसेन्स नपाएका सेवाग्राहीले हालसम्म रसिदकै आधारमा सवारी चलाउँदै आएका थिए।






