काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ।
यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४.७५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०५५.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३० अंकले घटेर ३८५.८१ को विन्दुमा झरेको छ । कारोबार रकम करिब साढे ३ अर्ब रुपैयाँको भएको छ।
आज नेप्से उपसमूहमा रहेमा १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ८० लाख ८ हजार २४६ कित्ता सेयर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ८.६५ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ३.२४ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा २.७७ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको बढोत्तरी भएको छ।
आज जलविद्युत समूह सर्वाधिक १.६० प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह १.१५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५७ प्रतिशत, विकास बैंक समूहमा ०.६२ प्रतिशत, वित्त समूहमा ०.२६ प्रतिशत, लगानी समूहमा ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४२ प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत र व्यापार समूहमा ०.३१ प्रतिशतको गिरावट आएको छ।
आज सोल्टी होटेलको सर्वाधिक २९ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको, नागरिक लगानी कोष, तारागाउँ रिजेन्सी होटेल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ओरियन्टल होटेल र एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।







