काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । बोर्डले १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियारमा पठाएको हो ।
कम्पनीको आईपीओमा पैसा नै नभएको खाताबाट करोडौँको आवेदन परेको थियो । १० लाख कित्ताका दरले फर्जी आवेदन दिनेमा भक्तपुरका प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य र श्रीजा पोखरेल छन् ।
त्यसैगरी, ललितपुरका अनिल राना र काठमाडौंकी सुमित्रा बम, पर्वतकी रञ्जना ढकाल पौडेल, गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री, चितवनका मनोज पाठक, सुनसरीका मिथिलेशकुमार मेहता र दोलखाका नवीन खत्रीले १० लाख कित्ताको फर्जी आवेदन दिएको देखिएको बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डले पनि अहिले फर्जी आवेदन, कम्पनीको रेटिङ र सेयर प्रत्याभूतिका विषयमा अनुसन्धान गरिरहेको छ।
घोराही सिमेन्टले प्रिमियम मूल्यसहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आईपीओ बिक्री खुला गरेको थियो । सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्री खुला गरिएको थियो। तर, मागभन्दा बढी आवेदन परेपछि पनि कम्पनीले आवेदन दिने थप गरेपछि यो आईपीओ शंकाको घेरामा फसेको हो।







