मोरङ। मोरङ गछियामा व्यावसायिक ड्रागन खेती गर्दै आएका टिएन तामाङको फर्ममा रू चारदेखि पाँच लाख बराबरको ड्रागन कुहिएको छ। सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासि लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो।
पूर्वी नेपालमा पहिलो पटक ड्रागन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए । आफूले सञ्चालन गरेको तर्जुमा ड्रागन फ्रुट फर्ममा मात्रै रू पाँच/सात लाखको फल कुहिएर झरेको उनको भनाइ थियो।
‘ड्रागनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ । यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्ने गर्छ। ड्रागनमा फूल फूल्ने, फल लाग्ने र फल पाक्ने क्रम सगसँगै हुन्छ। सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ’, घलेले भने। उनका अनुसार फल पाक्न सुरु भएपछि १९ हप्तासम्म प्रत्येक एक हप्ताको फरकमा फल टिप्न सकिन्छ।
ड्रागन फलको नेपालमा अत्यधिक माग छ। खुल्ला सिमानाका भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आएको ड्रागन फ्रुटले नेपाली बजार चलेको छ।बाहिरबाट आयात हुने ड्रागन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रागनले बजार नपाउने किसानको भनाइ छ।
नेपाली ड्रागनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरु बताउँछन्। पूर्वमा ड्रागन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन्।
नेपालमा ड्रागन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो। चर्को घामका कारण ड्रागनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या आउन थालेको किसानले गुनासो गरेका छन्।
ड्रागन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ। साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ।






